News Portal

सेती अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न पहल गर्छु : ढुगांना

6

सेती अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न पहल गर्छु : ढुगांना

 २०८२ माघ २५, आईतवार 

sharethis sharing button

धनगढी : कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका यज्ञराज ढुगांनाले सेती प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ढुगांनाले सेती अस्पतालको समग्र स्तरोन्नति गर्दै स्वास्थ्य शिक्षा र सेवाको केन्द्रका रूपमा विकास गर्न सकिने बताएका हुन्।

ढुगांनाका अनुसार सुदूरपश्चिम प्रदेशकै प्रमुख रेफरल अस्पतालका रूपमा रहेको सेती अस्पतालमा स्वास्थ्य सेवासँगै शैक्षिक गतिविधि विस्तार गर्नु अपरिहार्य भइसकेको छ । “सेती अस्पतालको भौतिक संरचना, उपकरण र जनशक्ति सुदृढ गर्दै स्टाफ नर्स, हेल्थ असिस्टेन्ट (एच.ए), ल्याब टेक्नोलोजी लगायतका स्वास्थ्यसम्बन्धी विषयको पठन-पाठन सञ्चालन गर्न आवश्यक छ,” उनले भने ।

उनले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि पहल भइरहेको उल्लेख गर्दै विश्वविद्यालयसँग समन्वय गरी सेती अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न सके सुदूरपश्चिममै आवश्यक स्वास्थ्य जनशक्ति उत्पादन गर्न सकिने बताए । यसले एकातर्फ स्थानीय विद्यार्थीलाई अध्ययनका अवसर सिर्जना गर्ने र अर्कोतर्फ अस्पतालको सेवा प्रवाह पनि थप प्रभावकारी हुने ढुगांनाको भनाइ छ ।

“शिक्षण अस्पतालको अवधारणाले दक्ष चिकित्सक, नर्स र प्राविधिक उत्पादन गर्न मद्दत पुर्‍याउँछ । यसले बिरामीलाई पनि गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउनेछ,” उनले जोड दिए ।

ढुगांनाले सेती अस्पतालको स्तरोन्नति तत्काल आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारसँग सहकार्य गरी विश्वविद्यालयको शिक्षण तथा शैक्षिक गतिविधिमा अस्पताललाई अभिन्न अंगका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर क्षेत्रको समग्र विकासमा आफू सक्रिय रहने उनको भनाइ छ ।

प्रतिक्रिया

Your email address will not be published.