
कैलाली । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ३ को विकास र समृद्धिलाई लक्षित गर्दै आफ्नो विस्तृत चुनावी घोषणा पत्र–२०८२ सार्वजनिक गरेको छ । प्रत्यक्षतर्फका प्रतिनिधि सभा सदस्य उम्मेदवार भिम बडुवाल र समानुपातिक उम्मेदवार रीताकुमारी चौधरीले संयुक्त रूपमा यस क्षेत्रको चौतर्फी विकासका लागि विभिन्न रणनीतिक योजनाहरू अघि सार्नुभएको हो ।
१. सुशासन र भ्रष्टाचार मुक्त राजनीतिको संकल्प
नेपाली कांग्रेसले कैलाली ३ मा सुशासन युक्त समाज, जवाफदेही सरकार र भ्रष्टाचार मुक्त राजनीति निर्माण गर्ने दृढ संकल्प गरेको छ । घोषणा पत्रमा पारदर्शिता र जनसहभागितामा आधारित विकासलाई जोड दिँदै २०४६ साल पछिका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न कानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
२. राष्ट्रिय गौरव र पूर्वाधारका ठूला आयोजना
घोषणा पत्रमा यस क्षेत्रको मुहार फेर्ने केही महत्वपूर्ण आयोजनाहरू प्रस्ताव गरिएका छन्ः
कान्द्रा नदी कोरिडोरः घोडाघोडीदेखि भजनीसम्म ३८ कि.मि. लामो तटबन्ध, हरित करिडोर र बाइरोड निर्माण गरिनेछ ।घोडाघोडी विकासः घोरीघोरा ताल क्षेत्रको समग्र विकासका लागि ’घोडाघोडी विकास समिति’ गठन गर्ने र थारु नौतले मन्दिर (देउथान) को स्तरोन्नति गरी धार्मिक पर्यटनलाई बढावा दिने लक्ष्य राखिएको छ ।
यातायातः हुलाकी सडकको स्तरोन्नति, मुख्य राजमार्गलाई चारलेन बनाउने र कैलारी, भजनी तथा घोडाघोडीमा पालिका स्तरीय रिङ रोड र बसपार्क निर्माण गरिनेछ ।
३. कृषिमा आधुनिकीकरण र सिँचाइको विस्तार
किसानहरूको जीवनस्तर सुधारका लागि घोषणा पत्रले कृषिलाई प्राथमिकतामा राखेको छः
रानीजमरा, गुर्गी र टेढी बाँध लगायतका सिँचाइ आयोजनाहरू सम्पन्न गरिनेछ । पहलमानपुरमा रहेको कोल्ड स्टोरलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने र सामूहिक व्यावसायिक खेतीका लागि आधुनिक उपकरणमा अनुदान दिइनेछ । समयमै मलखाद र बिऊ बिजनको आपूर्ति सुनिश्चित गर्ने प्रणालीको विकास गरिनेछ ।
४. शिक्षा र स्वास्थ्यमा सुधारका कार्यक्रम
सामाजिक क्षेत्रको विकासका लागि कांग्रेसले निम्न योजनाहरू अघि सारेको छः
शिक्षाः कैलारी गाउँपालिकामा उच्च शिक्षा प्रदायक क्याम्पस स्थापना गर्ने र घोडाघोडी बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको आंगिक क्याम्पस वा मानित विश्वविद्यालयको रूपमा विकास गरिनेछ । विपन्न र दलित बालबालिकाका लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ । स्वास्थ्यः प्रत्येक पालिकामा १५ देखि २५ सैयाको अस्पताल स्थापना गरिने र ५ लाख रुपैयाँ सम्मको स्वास्थ्य बीमा कार्यक्रम लागु गरिनेछ । थारु समुदायमा देखिएको सिकलसेल रोगको निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ ।
५. युवा र महिला सशक्तिकरण
युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न ’युवा उद्यमशीलता कोष’ स्थापना गर्ने र डिजिटल मार्केटिङ तथा अनलाइन रोजगारका लागि तालिम केन्द्रहरू सञ्चालन गरिनेछ । महिलाहरूका लागि ६÷६ महिनामा ’सांसदसँग महिला छलफल’ कार्यक्रम गरी उनीहरूको समस्या सम्बोधन गरिने र महिला उद्यमीहरूलाई विशेष अनुदान दिइनेछ ।
६. सुकुम्बासी र पिछडिएका समुदायको व्यवस्थापन
वास्तविक सुकुम्बासी र भूमिहीनको पहिचान गरी पारदर्शी रूपमा भूमि व्यवस्थापन गर्ने र मुक्त कमैया तथा कमलहरी परिवारलाई सुरक्षित आवास र रोजगारी सुनिश्चित गर्ने घोषणा पत्रमा उल्लेख छ । अल्पसङ्ख्यक राजी समुदाय र दलित समुदायको सामाजिक–आर्थिक उत्थानका लागि विशेष प्याकेज ल्याइनेछ ।
७. स्रोत व्यवस्थापन र अन्तिम अपिल
यी योजनाहरू कार्यान्वयनका लागि सरकारी, सहकारी, निजी क्षेत्र र वैदेशिक लगानी आकर्षित गर्ने लक्ष्य राखिएको छ । समृद्ध र सुरक्षित कैलाली क्षेत्र नम्बर ३ निर्माणका लागि चुनाव चिन्ह “रुख“ मा मतदान गरी कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन अन्तिम अपिल गरिएको छ ।






समाचार
राजनीति
सुदूरपश्चिम प्रदेश
खेलकुद
मनोरन्जन
विचार/ब्लग
शिक्षा
पत्रिका
अन्य