
धनगढी ।नेपाली कांग्रेस कैलाली-५का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरनारायण शाह (मनु) ले धनगढी उपमहानगरपालिका वडा नम्बर १४, १८ र १९ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। माघ २५ र २६ गते दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत उम्मेदवार शाहले धनगढीकाे हुलाकी सडकअन्तर्गत रहेका बस्तीहरूमा पैदलै पुगेर सयौँ मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मत मागेका हुन्।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय तथा स्थानीय तहका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बस्ती–बस्तीमा पुगेको टोलीलाई स्थानीय जनताले उत्साहपूर्वक स्वागत गरेका थिए। भेटघाटका क्रममा स्थानीयहरूले उम्मेदवार शाहलाई सरल, निष्कलङ्क र स्पष्ट भिजन भएका नेता भएको प्रतिक्रिया दिँदै कांग्रेसप्रति आफ्नो विश्वास अझै बलियो रहेको बताएका छन्।
घरदैलोपछि प्रतिक्रिया दिँदै उम्मेदवार शाहले जनताबाट पाएको माया, सद्भाव र आत्मीयताले आफूमा थप ऊर्जा र जिम्मेवारीबोध बढेको बताए। “राजनीति जनताको सेवा गर्ने माध्यम हो। जनताका समस्या सुन्नु, तिनको समाधानका लागि इमानदार प्रयास गर्नु र सम्भव कामका स्पष्ट प्रतिबद्धता गर्नु नै मेरो प्राथमिकता हो,” उनले भने।
फूलबारी क्षेत्रमा पहिलो चरणको घरदैलो हुलाकी सडक केन्द्रित भए पनि आगामी दिनमा गाउँ, बस्ती र टोल–टोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने उनको योजना रहेको छ। जनताको पक्षमा उभिने नेपाली कांग्रेसको नीति र विचारका कारण कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेस पक्षधर चुनावी माहोल दिनप्रतिदिन थप सशक्त बन्दै गएको समेत उम्मेदवार शाहले बताए ।
यस अघि उम्मेदवार शाहले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का विभिन्न गाउँ सहर र बस्तीमा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेका छन्।

समाचार
राजनीति
सुदूरपश्चिम प्रदेश
खेलकुद
मनोरन्जन
विचार/ब्लग
शिक्षा
पत्रिका
अन्य