News Portal

भारतमा रोजगारी गरेर स्वदेश फर्कने नेपालीसँग गौरीफन्टा सीमानाकामा गरिने अवैध असुली रोकिएन।

3

भारतमा रोजगारी गरेर स्वदेश फर्कने नेपालीसँग गौरीफन्टा सीमानाकामा गरिने अवैध असुली रोकिएन।

तेजराज भट्ट,
धनगढी
२o८२ माघ २५ आइतबार
भारतमा रोजगारी गरेर स्वदेश फर्कने नेपालीसँग गौरीफन्टा सीमानाकामा गरिने अवैध असुली रोकिएको छैन । नाकामा खटिएका भारतीय भन्सार कर्मचारीले सामान ल्याएकोलगायत वहानामा नेपालीसँग पैसा असुल्ने गरेका छन् । स्वदेश फर्कनेको ठुलो भिड हुने चाडबाडका वेला अवैध असुलीको विषय अरू वेलाभन्दा बढी उठ्ने गरेको छ ।

भारतको नयाँदिल्लीबाट फर्किएका कैलालीको गोदावरी नगरपालिका बास्कोटाका खेमराज ओझाले भारतीय भन्सार कर्मचारीलाई सय रुपैयाँ बुझाएर आएको बताए । ‘घरपरिवारका लागि लुगाकपडा ल्याएको थिएँ, सामानको पैसा लाग्छ भन्यो,’ त्रिनगर नाकामा भेटिएका उनले भने, ‘हामीसँगै आएका पाँचजना थियौँ, सबैले सय–सय भारु बुझाएर आयौँ ।’

भारतको राजधानी नयाँदिल्लीमा होटेलमा काम गर्ने उनले पारिवारिक कामले आफू घर फर्कन लागेको बताए । भारतीय भन्सार कर्मचारीले सामान ल्याएर फर्कने नेपालीलाई सडकछेउमा सिसा र आल्मुनियमबाट बनाएको अस्थायी संरचनामा बोलाएर पैसा असुल्ने गरेका छन् । उनीहरूले सामानको पोका हेरेर डेढ–दुई सय रुपैयाँसम्म माग्ने गरेको घर फर्कने नेपालीहरू बताउँछन् ।

कञ्चनपुरको बेलडाँडीका राजेन्द्र रोकाया आफूले ओढ्ने, ओच्छ्याउने र घरमा छोराछोरीका लागि लुगाफाटो लिएर फर्किादै थिए । सुटकेस र झोला गरी सामानको तीनवटा पोका ल्याएका उनले भारतीय भन्सार कर्मचारीले सय रुपैयाँ असुलेको गुनासो गरे । ‘लाइनमा अरूसँगै सरासर आउँदै थिएँ, सामान देखेर भित्र बोलायो र पैसा लाग्छ भन्यो,’ शुक्रबार बिहान त्रिनगर नाकामा घर जानका लागि सवारी कुरिरहेका खत्रीले भने, ‘पैसा नदिउँ भने सामान राखिदेलान् भन्ने डर ।’

भारतबाट फर्कनेहरू प्रायः केही न केही सामान ल्याएर आएका हुन्छन्। त्यही सामान ल्याएको वहानामा नाकामा भारतीय भन्सार कर्मचारीले अवैध रूपमा पैसा असुल गर्दै आएका छन् । घर फर्कने कतिपय नेपाली भने पैसा नतिरेरै पनि आउने गरेका छन्। भारत सुदूरपश्चिमेलीका लागि रोजगारीको प्रमुख गन्तव्य हो । सरकारी निकायसँग यकिन तथ्यांक छैन, तर यहाँबाट हजारौँको संख्यामा नेपाली भारतीय रोजगारीमा छन्। सुदूरपश्चिमको प्रमुख नाका त्रिनगर र गड्डाचौकीमा चाडबाडका वेला स्वदेश फर्कनेको बढी भिडभाड हुने गरे पनि रोजगारीका लागि भारत जाने र भारतबाट फर्कने दैनिकजसो हुन्छन्।

भारतको दिल्लीबाटै फर्किएका कञ्चनपुरको बेलौरीका भीमबहादुर खत्रीले नाकामा पैसा बुझाउनुपर्ने बाध्यता अझै उस्तै रहेको बताए। रोजगारीका लागि भारत आवतजावत गरिरहने उनले सोझासाझा नेपालीबाट नाकामा रकम असुल्ने काम भइरहे पनि नेपाली सुरक्षाकर्मीले केही गर्न नसकेको गुनासो गरे । ‘पारि सधैँ त्यस्तै हो, सामान देख्यो कि पैसा माग्छन्,’ दिल्लीमा निजी सवारीचालक उनले भने, ‘घर आउँदा सबैले लुगाफाटो आदि केही न केही ल्याएकै हुन्छन्। त्यही देखाएर पैसा माग्छन्।’ भनसुन गर्न सक्नेहरू भने पैसा नदिएर पनि आउने गर्छन्। नेपालमा भएको जेन–जी आन्दोलनपछि सीमानाकामा भारतीय सीमा सुरक्षा बलले चेकजाँच पनि कडाइ गरेको छ । जसका कारण नेपालीलाई सीमा पार गर्न लामो समय लाइनमा बस्नुपर्छ।

नाकामा वारि सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका हुन्छन्। सशस्त्र प्रहरीको प्रस्तावित त्रिनगर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन कार्कीले भने पारि पैसा असुलेको विषयमा नेपालीबाट कुनै गुनासो नआएको बताए। उनका अनुसार अहिले दैनिक डेढ–दुई सय नेपाली घर फर्किरहेका छन् । ‘विवाह, व्रतबन्ध गर्ने समय र चुनाव आउन लागेकाले पनि होला अहिले भारतबाट घर फर्कने नेपालीको संख्या बढेको छ,’ कार्कीले भने, ‘पारि पैसा असुलेको गुनासो भने आएको छैन । अप्ठ्यारो परेकालाई हामीले सहजीकरण गरिरहेका हुन्छौँ ।’

प्रतिक्रिया

Your email address will not be published.